मुस्ताङमा दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुँदै

मुस्ताङ – हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलि (मंगलबार)देखि दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ आयोजना हुँदैछ। जलवायु परिवर्तनले हिमाल, पहाड र तराईका स्थानीय तहमा पारेको प्रभाव, अनुकूलनका उपाय तथा जलवायुजन्य जोखिम न्यूनीकरणका विषयमा साझा धारणा तय गर्ने उद्देश्यले पहिलोपटक सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने लक्ष्यसमेत राखिएको छ ।

सम्मेलनमा सहभागिताका लागि देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार गरिएको थियो । आइतबारसम्म ४२० स्थानीय तहले सहभागिता जनाउने प्रतिबद्धता जनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो । सम्मेलनमा ३६ जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता रहनेछ ।

प्रदेशगत रूपमा कोशी प्रदेशबाट ७२, मधेसबाट ५८, बागमतीबाट ४६, गण्डकीबाट ६४, लुम्बिनीबाट ६२, कर्णालीबाट ३८ र सुदूरपश्चिमबाट ६६ स्थानीय तहले सहभागिताका लागि नाम टिपाएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताउनुभयो । सम्मेलन आयोजनाका लागि मुस्ताङका अन्य चार स्थानीय तहले समेत सहयोग गरिरहेका छन् ।

गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँका अनुसार सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्नुहुनेछ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।

Facebook Comments Box