असोज १ अघि नै पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने तयारी

नारायणगढ । कृष्णभिरमा राजमार्ग नै भासिएपछि अवरुद्ध पृथ्वी राजमार्ग असोज १ गतेअघि नै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । त्रिशूली नदीको निरन्तर कटानका कारण भासिएको राजमार्गसँगैको भिर कटान गरी सडक सञ्चालनयोग्य बनाउन लागिएको हो । पृथ्वी राजमार्गको मुग्लिङ–मलेखु खण्ड निर्माण आयोजनाका प्रमुख वरिष्ठ डिभिजनल इन्जिनियर सजना अधिकारीका अनुसार भिर कटानको काम सकिएको छ । अब राजमार्गको सतह मिलाएर यातायात सञ्चालन गर्ने तयारी छ ।

“भित्ता काट्ने काम सकिएको छ । अब राजमार्गको ग्रेड मिलाएर सतह तयार गर्ने, कम्प्याक्सन गर्ने र ग्राभेल गरेपछि राजमार्ग सञ्चालनमा ल्याउने छौँ,” उहाँले भन्नुभयो । अधिकारीका अनुसार काम यही गतिमा अघि बढे दुई–तीन दिनमै सडक सञ्चालनमा आउन सक्नेछ । भिरको करिब १० मिटर चौडाइ र १५२ मिटर लम्बाइको भाग काटिसकिएको छ ।

आयोजनाका इन्जिनियर धिरण ढकालका अनुसार सडक खुलाउन एक्साभेटर, बुल्डोजर, लोडर, ब्याकहो, टिप्पर, रक ब्रेकर र ग्रेडरलगायत उपकरण परिचालन गरिएको छ । सडक सञ्चालनमा ल्याउन दिनरात काम भइरहेको उहाँले बताउनुभयो । कृष्णभिरमा लामो समयदेखि भासिने तथा पहिरो जाने समस्या रहँदै आएको छ । विसं २०५७ देखि समस्या देखिँदै आएको उक्त क्षेत्रमा पछिल्लोपटक भदौ १४ गते सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध हुँदा सङ्घीय राजधानी काठमाडौँसँग तराईका जिल्लाको सडक सम्पर्क प्रभावित भएको छ । वैकल्पिक मार्गबाट पर्याप्त खाद्यान्न, एलपी ग्यासलगायतका सामग्री ढुवानी हुन नसक्दा राजधानीमा समेत आपूर्तिमा समस्या देखिएको छ । राजमार्ग सञ्चालनमा आएपछि खाद्यान्न, एलपी ग्यासका बुलेट, औषधि बोकेका सवारीसाधन र एम्बुलेन्सलाई प्राथमिकताका साथ आवागमन गराइने आयोजनाले जनाएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार राजमार्ग अवरुद्ध हुँदा यस मार्गबाट काठमाडौँ जाने दैनिक करिब १५ हजार सवारीसाधन प्रभावित भएका छन् । तीमध्ये करिब चार हजार मालवाहक तथा खाद्यान्न ढुवानी गर्ने सवारीसाधन रहेका छन् ।

Facebook Comments Box