तरकारीमा विषादी परीक्षण बढाइँदै

चितवन । किसानले बजारमा ल्याउने तरकारीमा विषादीको प्रयोग बढ्न थालेपछि चितवनमा विषादी अवशेष परीक्षणलाई तीव्र पारिएको छ । परीक्षण बढाइएसँगै किसानले विषादी प्रयोग गरेलगत्तै तरकारी बजारमा बिक्रीका लागि ल्याउने क्रम घटेको पाइएको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित महानगर तरकारी तथा फलफूल थोकबजार परिसरमा रहेको विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा पछिल्ला वर्षमा परीक्षणको दर बढ्दै गएको छ ।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलका अनुसार गत आर्थिक वर्षमा चितवनसहित विभिन्न जिल्लाबाट थोकबजारमा आएका एक हजार १७२ तरकारीका नमुना परीक्षण गरिएको थियो । तीमध्ये एक हजार १५८ नमुना ३५ प्रतिशतभन्दा कम विषादी अवशेष भेटिएकाले उपभोग गर्न योग्य पाइएका थिए ।

त्यस्तै, १० नमुनामा ३५ देखि ४५ प्रतिशतसम्म विषादी अवशेष भेटिएको थियो । यस्ता तरकारीलाई केही दिन पर्खिएपछि मात्र उपभोग गर्न मिल्ने जनाइएको छ । चार नमुनामा ४५ प्रतिशतभन्दा बढी विषादी भेटिएपछि ती नमुना तथा सम्बन्धित स्थानबाट सङ्कलन गरिएका तरकारी नष्ट गरिएको कँडेलले जानकारी दिनुभयो ।

४५ प्रतिशतभन्दा बढी विषादी अवशेष भएका तरकारी बिक्रीवितरण गर्दा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले त्यस्ता तरकारी नष्ट गर्ने गरिएको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०८१/८२ मा प्रयोगशालाले ९०७ तरकारीका नमुना परीक्षण गरेको थियो । तीमध्ये पाँच नमुना नष्ट गर्नुपर्ने, आठ नमुना केही दिनपछि मात्र उपभोग गर्न मिल्ने र ८९४ नमुना उपभोगयोग्य पाइएको थियो ।

यसअघि आर्थिक वर्ष २०८०/८१ मा ५९० नमुना परीक्षण गरिएकामा चार नमुना नष्ट गर्नुपर्ने, नौ नमुना केही दिन राखेर मात्र प्रयोग गर्नुपर्ने र ५७७ नमुना उपभोगयोग्य पाइएको थियो । प्रयोगशालामा गोलभेँडा, तनेबोडी, सिमी, भान्टा, भेडेखुर्सानी, काउली, बन्दा, करेला, काँक्रो, साग र घ्युसिमीलगायत तरकारी तथा विभिन्न फलफूलमा विषादी अवशेष परीक्षण गरिन्छ ।

प्रमुख कँडेलका अनुसार विषादी परीक्षण हुने भएपछि किसानले विषादी प्रयोग गरेलगत्तै तरकारी बिक्रीका लागि बजारमा ल्याउने क्रम घटेको छ । विषादी प्रयोग गरेपछि मानव स्वास्थ्यमा असर पर्ने गरी तरकारी बजारमा नल्याउन किसानलाई सचेत गराउँदै आएको उहाँले बताउनुभयो ।

Facebook Comments Box