अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी । म्याग्दीमा निर्माणाधीन ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फ जाने सुरुङ ‘ब्रेक थ्रु’ भएको छ। म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको धवलागिरि गाउँपालिका–४ छहरीस्थित अडिटदेखि मालिका गाउँपालिका–७ भारवाङमा निर्माणाधीन विद्युत्गृह जोड्ने सुरुङ बुधबार छेडिएको हो।

आयोजना प्रमुख ज्योत‍िकुमार केसीका अनुसार छहरीको अडिटदेखि धवलागिरि–४ खाम्लास्थित बाँधतर्फ जाने दुई हजार ५०६.३९ मिटर सुरुङ ‘ब्रेक थ्रु’ भएको हो। बाँधतर्फ निर्माण गर्नुपर्ने कुल तीन हजार २८३.३२ मिटर सुरुङमध्ये हालसम्म एक हजार ९७३ मिटर निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो।

बाँकी सुरुङ निर्माणको काम पनि केही महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित तीव्र गतिमा भइरहेको आयोजना प्रमुख केसीले जानकारी दिनुभयो। आयोजनाको हालसम्म करिब ५६ प्रतिशत भौतिक प्रगति भएको र आगामी एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो। विसं २०८० चैत १९ गते सम्झौता भएको तथा २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एन्ड कन्ट्र्याक्टरले २०८१ भदौदेखि मुख्य सुरुङ निर्माण थालेको थियो।

आयोजनामा बाँध, सुरुङ र विद्युत्गृह निर्माणसँगै हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फका कामलाई समेत तीव्रता दिइएको छ। यद्यपि बर्खायाममा बेनी–दरबाङ सडकअन्तर्गत फापरखेत पहिरो, दुखुखोला सडक पुलमा देखिएको जोखिम र शिवरात्रिखोला सडक पुल निर्माणमा भएको ढिलाइका कारण आयोजनाको निर्माण प्रभावित भएको जनाइएको छ।

सानिमा बैंकको नेतृत्वमा छ वटा बैंकको ऋण तथा प्रवर्द्धक कम्पनी र सर्वसाधारणको शेयरबाट जुटाइने रु. ११ अर्ब २३ करोड २७ लाख ६ हजार लगानीमा आयोजना निर्माण भइरहेको छ। आयोजनाको विद्युत्गृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ।

भारवाङदेखि करिब १.५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन निर्माण गरी नेपाल विद्युत् प्राधिकरणले मालिका–७ डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी सबस्टेसनमार्फत आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। आयोजनाबाट वार्षिक औसत ३१५.०१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।

रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युत्गृहसम्मको उचाइ १९६ मिटर रहेको छ। आउटलेटबाट विद्युत्गृहसम्म पानी पुर्‍याउन ६९२ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ। ऊर्जा इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सोलुसन प्रालि आयोजनाको परामर्शदाता रहेको छ भने मेकानिकल तथा इलेक्ट्रोमेकानिकल ठेकेदार छनोटको प्रक्रिया अघि बढाइएको छ। अपर म्याग्दी–१ को प्रवर्द्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालिमा आबद्ध रहेको छ।

Facebook Comments Box