क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आदेश आउन सकेन
काठमाडौँ, ११ वैशाख – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सोमबार अढाई घण्टा सुनुवाइ भएर पनि आदेश आउन सकेन। जाहेरवालाको तर्फबाट सरकारी वकिल र निजी वकिलहरुले सोमबार दिउँसो साढे २ बजेदेखि ५ बजेसम्म बहस गरेका थिए।
तर बहस नसकिएकाले न्यायाधीश दीपक ढकालले हेर्दा हेर्दैमा नराख्ने र अर्को पेशी तोकिने बताए। यससँगै सोमबारको सुनुवाइको पनि अर्थ रहेन। सोमबार जाहेरवालाको तर्फबाट एकजना सरकारी वकिल र ४ जना निजी वकिलले बहस गरेका थिए।
अब जाहेरवालाको तर्फबाट २ जनाले मात्रै बहस गर्न बाँकी थियो। तर यो बहसको अब कुनै अर्थ रहेन। अब अर्को इजलासमा पेशी तोकिएर सुरुदेखि नै बहस हुनेछ।
आधा सुनुवाइ भइसकेपछि हेर्दाहेर्दैमा राख्ने कि, अर्को पेशी तोक्ने भन्ने न्यायाधीशको तजबिजमा भरपर्छ। ‘यो न्यायाधीशको तजबिजमा भरपर्छ। सिधा बुझ्दा यो मुद्दामा न्यायाधीशले फैसला गर्न चाहनु भएन’, एक अधिवक्ताले भने।
हेर्दाहेदैमा राखिएको भए न्यायाधीश ढकालकै इजलासमा अर्को दिन सुनुवाइ हुने थियो र उनैले फैसला दिने थिए। तर न्यायाधीशले हेर्दाहेर्दैमा नराख्दा सोमबारको बहस नै अर्थहीन भएको छ।
सोमबार बहस गरेका जाहेरवालाका वकिलले अब फेरि सुरुबाटै बहस गर्नुपर्नेछ। अब अर्को पेशीमा सुरुदेखि नै सुनुवाइ हुने भएको छ। अर्को पेशी तोकिँदा पनि अर्कै न्यायाधीश तोकिन सक्छन्।

