सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे तथा राष्ट्रिय सभाको बैठक १ः१५ बजे बस्नेछ। प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
यस्तै, अर्थमन्त्री वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यसैगरी, सभामुखले राष्ट्रिय सभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्नुहुनेछ।
यस्तै, प्रधानमन्त्री शाहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। उक्त प्रस्तावमाथि राष्ट्रिय सभामा छलफल गरी पारित गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

