बाढीपहिरोले देशका विभिन्न सडकखण्ड प्रभावित, केही राजमार्ग अवरुद्ध
काठमाडौँ । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य सडक तथा राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकासहित बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विसापानीमा पहिरो खसेपछि काठमाडौँ–धादिङ सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ।
काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा बाढीको सम्भावनालाई मध्यनजर गर्दै १० टनसम्मका मालवाहक सवारीसाधनलाई साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ। बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म भने सडकको अवस्था हेरेर सवारी सञ्चालन गर्न सकिने प्रहरीले जनाएको छ।
रसुवाको त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्डअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ। जिल्लाको मुख्य राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। नुवाकोटको शिवपुरी गाउँपालिका–७ घट्टेखोलामा पहिरो तथा बाढीका कारण टोखा–छहरे सडकखण्ड अवरुद्ध भएको छ। बेलकोटगढी नगरपालिका–१० सिमटारमा बाढीका कारण पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ।
धादिङमा पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ। बेनीघाट रोराङ–१० ज्वालामुखोला र गजुरी गाउँपालिका–२ चालिसेमा भने पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। थाक्रे गाउँपालिका–२ कुमेशीभीरमा पनि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
चितवनको बेनीघाट रोराङ गाउँपालिका–१० ज्वालामुखोलामा सडक मर्मतका कारण पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेशको रोल्पास्थित परिवर्तन गाउँपालिका–३ भालुवोरमा पहिरोका कारण सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। कर्णाली प्रदेशमा पनि विभिन्न सडकखण्ड प्रभावित भएका छन्। मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चामा पहिरोका कारण मुगु–नाग्मा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ।
सुर्खेतको बराहताल गाउँपालिका–७ ओइल्सेमा पहिरोका कारण कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। दैलेखको दुल्लु नगरपालिका–१ भत्कुको खोलामा पहिरो खसेपछि कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ।

