बाढीपहिरोले मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध
काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले सोमबार बिहान ६ः४० बजेसम्मको अवस्था अद्यावधिक गर्दै बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध भएको जनाएको छ ।
प्रहरीका अनुसार कतिपय सडकखण्ड पूर्ण रूपमा बन्द छन् भने केही स्थानमा एकतर्फी यातायात सञ्चालनमा छ । केही सडकमा भने जोखिमलाई ध्यानमा राखी निश्चित समयमा मात्र सवारीसाधन सञ्चालन गर्न दिइएको छ । बागमती प्रदेशअन्तर्गत धादिङको पृथ्वी राजमार्गमा पहिरोका कारण यातायात प्रभावित भएको छ । बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर र गजुरी गाउँपालिका–२ स्थित चालीसेमा सडक पूर्ण रूपमा अवरुद्ध छ । गजुरीकै परेवाभिर र बेनीघाट रोराङ गाउँपालिकास्थित ज्वाङखोलामा भने एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरो खसेपछि काठमाडौँ–धादिङ सडकखण्ड पनि एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडकखण्डमा बाढीको जोखिमलाई ध्यानमा राख्दै १० टनसम्मका मालवाहक सवारीसाधनलाई बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म मात्र सञ्चालन गर्न दिइएको छ ।
अन्य सवारीसाधनलाई पनि सडकको अवस्था हेरेर बिहान ४ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन गर्न दिइएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड बाढीका कारण पूर्ण रूपमा बन्द छ । उक्त सडकको अवरोध हटाउन लामो समय लाग्न सक्ने प्रहरीले जनाएको छ । रसुवाकै मुख्य राजमार्गसमेत बाढीका कारण पूर्ण रूपमा ठप्प रहेको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा बाढीपहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । पासाङ ल्हामु राजमार्गअन्तर्गत बेत्रावतीको सिमटारमा सडक पूर्ण रूपमा अवरुद्ध छ । लुम्बिनी प्रदेशमा रोल्पाको परिवर्तन गाउँपालिका–३ भालखोरमा पहिरो खसेपछि सहिद राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । कर्णाली प्रदेशमा पनि मुख्य सडकखण्डहरू अवरुद्ध छन् ।
मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चास्थित मुगु–गमगढी सडक पूर्ण रूपमा बन्द छ । कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोला तथा खाँडाचक्र नगरपालिका–७ र ८ स्थित रातोपहाडमा पहिरो खसेपछि कर्णाली राजमार्ग ठप्प भएको छ । यसैगरी सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा पहिरोका कारण कर्णाली राजमार्ग र सल्यानको कपुरकोट गाउँपालिका–४ आरीडाँगाले फेदीमा पहिरो खसेपछि राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

