मुस्ताङको ठिनी गाउँमा प्रकृति पूजा
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ ठिनी गाउँमा थकाली समुदायको परम्परागत फालो पर्व सुरु भएको छ। हरेक वर्ष भदौ महिनामा मनाइने यो पर्व दुई दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिसहित मनाइन्छ। पर्वको पूर्वसन्ध्यामा स्थानीय लामाले प्रकृतिको पूजा गरेका छन्। प्रकृति पूजाका लागि जाने लामालाई गाउँका महिलाले खादा र फूलमालासहित सम्मान गरेर बिदाइ गर्ने परम्परा छ।
स्थानीय लामा श्यामप्रसाद थकालीका अनुसार फालो पर्वमा हिमाललाई भगवानका रूपमा पूजा गर्दै गाउँमा अनिष्ट नहोस्, रोगव्याधि नलागोस्, अन्नबाली सप्रियोस्, प्राकृतिक विपत्ति नआओस् र विश्वमा शान्ति छाओस् भन्ने कामना गरिन्छ। पछिल्लो समय बढ्दै गएको विपद् तथा रसुवाको भोटेकोशी बाढीबाट भएको क्षतिसमेत स्मरण गर्दै यस्ता घटना नदोहोरिउन् भन्ने कामना गरिने उहाँले बताउनुभयो।
प्रकृति पूजाका लागि स्थानीयवासी घोडामा सवार भएर नमखुलेक क्षेत्रमा पुगेका छन्। टोली दुई दिनपछि गाउँ फर्किएपछि फालो पर्व औपचारिक रूपमा सुरु हुने स्थानीयले बताएका छन्। पर्वमा याक नाच, जोगी नाच र तमाया नाच लगायतका सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ। धार्मिक विधि र परम्पराअनुसार पर्वको समापन गरिनेछ।

