बिपी राजमार्गमा सवारी चाप बढ्यो, मालवाहक गाडी रातिमात्र सञ्चालन गरिने

काभ्रेपलाञ्चोक, १९ भदौ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा बाढीका कारण सडक अवरुद्ध भएपछि बिपी राजमार्गमा सवारीसाधनको चाप बढेको छ। सवारी चाप व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आलोपालो प्रणाली लागू गरेको छ। जिल्लास्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारीसाधनलाई रातिको समयमा मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ। बिपी राजमार्गमा १० टनभन्दा बढी तौल भएका सवारीसाधन सञ्चालन गर्दा समस्या हुने भएकाले तौल सीमा निर्धारण गरिएको हो।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सडक जाम हुन नदिन ट्राफिक प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँगको समन्वयमा सवारी सञ्चालनको समय व्यवस्थापन गरिएको छ। धुलिखेलबाट खुर्कोट र खुर्कोटबाट धुलिखेलतर्फ जाने मालवाहक सवारीसाधन सम्भव भएसम्म बाटोमा एकअर्कासँग क्रस नहुने गरी समय मिलाइएको उहाँले बताउनुभयो।

ग्यास बुलेटलगायत ठूला मालवाहक सवारीसाधनलाई बिपी राजमार्गको धुलिखेल–भकुण्डे सडकखण्डमा सुरक्षाकर्मीको उपस्थितिमा मात्रै सञ्चालन गरिने भएको छ। डिभिजन सडक कार्यालय भक्तपुरले दुर्घटनाको उच्च जोखिम रहेका साँघुरा घुम्ती तथा सडक अवरुद्ध हुनसक्ने स्थान पहिचान गरी तत्काल सम्भव सुधारका काम अघि बढाउने जनाएको छ।

डिभिजन सडक कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले राजमार्गका जोखिमयुक्त स्थानमा सवारीसाधन सहज रूपमा पास गराउन तथा सडक अवरुद्ध हुन नदिन डोजर र अन्य आवश्यक उपकरण तयारी अवस्थामा राखिएको बताउनुभयो।

Facebook Comments Box