सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक, ७५ प्रतिशत काम सम्पन्न
लमजुङ, १८ भदौ – निर्माण सुरु भएको सात वर्ष पुग्न लाग्दा पनि लमजुङको क्व्होलासोथार गाउँपालिकाको बाग्लुङपानी–घलेगाउँ–भुजुङ सडक आयोजना सम्पन्न हुन सकेको छैन । विसं २०७६ असोज ३० गते रु ३६ करोड ६६ लाख ६८ हजार १७५ मा कान्छाराम कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको १७ किलोमिटर सडक विसं २०७८ असोज २९ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पटकपटक म्याद थपिए पनि आयोजना पूरा हुन सकेको छैन ।
आयोजनाअन्तर्गत बाग्लुङपानीदेखि घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटर सडक ग्राभेल गर्ने योजना छ । हालसम्म आयोजनाको ७५ प्रतिशत भौतिक र ७४ प्रतिशत वित्तीय प्रगति भएको पूर्वाधार विकास कार्यालयका परामर्शदाता राजेश अधिकारीले जानकारी दिनुभयो । हालसम्म रु २७ करोड ३७ लाख ४६ हजार ९८२ भुक्तानी भइसकेको छ ।
बाग्लुङपानी–घलेगाउँ खण्डमा पाँच हजार ५०० मिटर कालोपत्र भइसकेको छ भने चार हजार ५०० मिटर कालोपत्र गर्न बाँकी छ । त्यस्तै, घलेगाउँ–भुजुङ खण्डमा दुई किलोमिटर ग्राभेल भएको छ भने पाँच किलोमिटर ग्राभेल गर्न बाँकी छ । आयोजनामा करिब चार हजार ९०० घनमिटर नाली निर्माण गर्नुपर्नेमा दुई हजार ७२९ घनमिटर निर्माण भएको छ । तीन हजार १८७ घनमिटर ढलान गर्नुपर्नेमा हालसम्म २०१ घनमिटर मात्रै ढलान भएको छ । कल्भर्ट तथा पर्खाल निर्माणका केही कामसमेत बाँकी छन् ।
पहिलोपटक तोकिएको समयभित्र काम नसकिएपछि विसं २०७९ असोज २९ गतेसम्म, त्यसपछि २०८१ असार २८ गतेसम्म र पुनः २०८२ चैत ३० गतेसम्म म्याद थप गरिएको थियो । पछिल्लो म्याद सकिएपछि हाल आयोजनाको म्याद थप भएको छैन । सार्वजनिक खरिद ऐन संशोधनपछि तोकिएको मापदण्ड पूरा गर्ने निर्माण व्यवसायीलाई पुनः म्याद थप गरी काममा लगाउन सकिने व्यवस्था गरिएको छ ।
सोही व्यवस्थाअनुसार कान्छाराम कन्स्ट्रक्सनले साउन ४ गते म्याद थपका लागि निवेदन दिएको अधिकारीले बताउनुभयो । आवश्यक प्रक्रिया पूरा भएपछि बाँकी काम अघि बढाउन सकिने उहाँको भनाइ छ । निर्माणमा विभिन्न कारणले ढिलाइ हुँदै आएको र पछिल्लो समय म्याद थपसम्बन्धी प्रक्रिया टुङ्गो नलाग्दा काम अघि बढ्न नसकेको अधिकारीले बताउनुभयो ।
सडक आयोजना सम्पन्न भएपछि क्व्होलासोथार गाउँपालिकाका प्रमुख पर्यटकीय क्षेत्र घलेगाउँ र भुजुङ सहज रूपमा सडक सञ्जालमा जोडिनेछन् । यसबाट स्थानीयवासीको आवागमन सहज हुनुका साथै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

