बाढीपहिरोले देशभरका प्रमुख सडक अवरुद्ध, विभिन्न स्थानमा रात्रिकालीन आवागमन रोक
काठमाडौँ, १५ भदौ। अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडक अवरुद्ध हुनुका साथै केही सडकमा रात्रिकालीन आवागमनमा रोक लगाइएको जनाएको छ।
कोशी प्रदेशको इलाम नगरपालिका–९ राजदुवालीमा मेची राजमार्गअन्तर्गत झापादेखि ताप्लेजुङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ। बागमती प्रदेशका विभिन्न जिल्लामा पनि बाढीपहिरोका कारण सडक अवरुद्ध भएका छन्।
काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। दिउँसो भने सडकको अवस्था हेरेर यातायात सञ्चालन गरिने जनाइएको छ।
मकवानपुरको कान्तिलोकपथअन्तर्गत हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडक खण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक खण्ड बाढीका कारण लामो समयका लागि पूर्ण रूपमा अवरुद्ध भएको छ।
नुवाकोटको टोखा–छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित बाढीपहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटका अन्य मुख्य राजमार्ग तथा पासाङल्हामु सडक खण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीर र गजुरी गाउँपालिका–२ परेवा भीरमा पहिरो गएपछि सडक पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।
कर्णाली प्रदेशको मुगुमा छायाँनाथ रारा नगरपालिका–७ झ्यारीखोला र टोक्ला क्षेत्रमा पहिरो जाँदा नाग्म–मुगु गमगढी सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायबाट प्रयास भइरहेको छ। वर्षाका कारण थप बाढीपहिरोको जोखिम रहेकाले यात्रामा निस्कनुअघि सडकको अवस्थाबारे जानकारी लिन तथा यात्रा गर्दा विशेष सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

