एसिसी प्रिमियर कपमा नेपालको लक्ष्य उपाधि र एसिया कप
काठमाडौँ, १४ भदौ – तेस्रो संस्करणको एसिसी प्रिमियर कप आइतबारदेखि मलेसियामा सुरु हुँदैछ। प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रँदैछ।
एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने ५० ओभरको प्रतियोगितामा नेपालसहित १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा परेको छ। यस समूहमा नेपालसँगै बहराइन, हङकङ, आयोजक मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन्।
नेपालले भदौ १५ गते बहराइनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुने उक्त खेल नेपालले बहराइनसँग ५० ओभरको क्रिकेटमा पहिलोपटक खेल्न लागेको हो। नेपालले दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग खेल्नेछ। मलेसियाविरुद्धका पछिल्ला पाँच एकदिवसीय खेलमा नेपाल अपराजित छ।
प्रतियोगिताअघि भएका दुई अभ्यास खेलमा समेत नेपालले मलेसियालाई पराजित गरेको थियो। प्रिमियर कपमा मलेसियाविरुद्ध नेपालको यो दोस्रो भेट हो। सन् २०२३ मा भएको पहिलो संस्करणमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको थियो। नेपालले तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ।
नेपाल र साउदी अरेबियाबीच हालसम्म भएका दुई खेलमध्ये नेपालले एकमा जित हात पारेको छ भने अर्को खेल रद्द भएको थियो। ५० ओभरको क्रिकेटमा नेपाल र हङकङबीच भएका चार खेलमध्ये नेपालले एक तथा हङकङले दुई खेल जितेका छन् भने एक खेल रद्द भएको थियो। एसिसीका अनुसार दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनलका विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। यसपटक प्रिमियर कपको विजेताले मात्र सन् २०२७ को एसिया कपमा स्थान बनाउनेछ।
गत संस्करण भने टी–२० ढाँचामा भएको थियो। सन् २०२४ मा आयोजित उक्त प्रतियोगिताबाट युएई, ओमान र हङकङ एसिया कपका लागि छनोट भएका थिए। नेपाल भने चौथो स्थानमा सीमित भएको थियो। नेपालले प्रिमियर कपको पहिलो संस्करणको उपाधि जितेको थियो। सन् २०२३ मा घरेलु मैदानमा भएको प्रतियोगिताको फाइनलमा युएईलाई सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो। यसपटक पनि नेपाली टोली उक्त सफलता दोहोर्याउने लक्ष्यमा छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य तथा क्यानको खेलाडी छनोट समितिका पूर्वसंयोजक दीपेन्द्र चौधरीले नेपाल उपाधिको बलियो दाबेदार रहेको बताउनुभएको छ। विदेशी पिचमा खेल्नुपर्ने भए पनि प्रतियोगिताअघि पर्याप्त अभ्यासको अवसर पाएकाले नेपाली टोलीलाई फाइदा पुग्ने उहाँको भनाइ छ।
उहाँका अनुसार भारतमा गरिएको प्रशिक्षण तथा मलेसियामा खेलिएका अभ्यास खेलले नेपाली खेलाडीलाई प्रतियोगिताका लागि तयार हुन सहयोग पुगेको छ। मुख्य प्रशिक्षक स्टुअर्ट लले अभ्यास खेलमा खेलाडीको प्रदर्शनलाई नजिकबाट नियालेकाले त्यसको सकारात्मक प्रभाव प्रतियोगितामा देखिन सक्ने चौधरीको विश्वास छ।
टोलीका नयाँ खेलाडी पनि राम्रो लयमा रहेको उहाँले बताउनुभयो। देव खनाल, आसिफ शेख र अर्जुन कुमाललगायतले अभ्यास खेलमा राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै चौधरीले नेपालको बलियो पक्ष यसपटक पनि बलिङ रहेको बताउनुभयो। मलेसियासँगको दोस्रो अभ्यास खेलमा नेपालले एक सय ७१ रनको सामान्य लक्ष्य दिए पनि २७ रनको जित निकाल्नुले बलिङ पक्षको क्षमता देखाएको उहाँको भनाइ छ। चौधरीका अनुसार प्रतियोगितामा नेपालको प्रमुख प्रतिस्पर्धी ओमान र युएई हुनेछन्।
घरबाहिर खेल्नुपर्ने भएकाले केही चुनौती भए पनि प्रतियोगिताअघि मलेसियाको पिचमा अभ्यास खेल खेलिसकेकाले नेपाली खेलाडी त्यस परिस्थितिमा केही अभ्यस्त भइसकेको उहाँले बताउनुभयो। विगतका महत्त्वपूर्ण प्रतियोगितामा ओमान र युएईले नेपाललाई चुनौती दिँदै आएका कारण यी दुई टोलीविरुद्धका खेल विशेष महत्त्वपूर्ण हुने उहाँको भनाइ छ।

