बाढी–पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । देशभर भइरहेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले दिएको पछिल्लो विवरणअनुसार काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाकादेखि पहाडी जिल्लासँग जोडिएका सडकखण्डमा आवागमन प्रभावित भएको हो।

काठमाडौँको नागढुङ्गादेखि मुग्लिनसम्मको सडकखण्ड बाढीको जोखिमलाई ध्यानमा राख्दै भदौ १० गतेदेखि नै पूर्ण रूपमा बन्द गरिएको छ। यसका कारण राजधानी भित्रिने र बाहिरिने प्रमुख सडक नाका प्रभावित भएको छ। इलामको मेची राजमार्गअन्तर्गत राजदुवाली क्षेत्रमा पनि अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। यद्यपि, उक्त क्षेत्रमा वैकल्पिक सडकबाट आवागमन गर्न सकिने बताइएको छ।

बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै बागमती प्रदेशका केही प्रमुख सडकमा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। वीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। दिउँसो भने सडकको अवस्था हेरेर मात्र सवारी सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ।

त्यस्तै, कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडकखण्डमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। टोखा–छहरे सडकखण्डको घट्टेपुल क्षेत्रमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा निषेध गरिएको छ।

रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण साउन ८ गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। उक्त सडकखण्ड तत्काल सञ्चालनमा आउने अवस्था नरहेको बताइएको छ। रसुवाका अन्य केही मुख्य सडकखण्डसमेत साउन १० गतेदेखि बन्द अवस्थामा रहेका छन्। प्रहरीले बाढी, पहिरो तथा सडकको अवस्थालाई ध्यानमा राखी यात्रा गर्न र सम्बन्धित निकायबाट जारी हुने सूचनाअनुसार मात्रै सवारी सञ्चालन गर्न आग्रह गरेको छ।

Facebook Comments Box