कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

सुर्खेत, ३ भदौ – कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ। बैठकमा मुख्यमन्त्री मङ्गलबहादुर शाहीले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ। मुख्यमन्त्री शाहीले विश्वासको मत लिनेसम्बन्धी प्रस्तावसहितको पत्र सोमबार प्रदेशसभा सचिवालयमा दर्ता गराइसक्नुभएको छ। नेकपा (एमाले)को समर्थनमा शाही गत साउन १२ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।

दुई दलबीच मन्त्रालय बाँडफाँडमा सहमति हुन केही ढिलाइ भएका कारण हालसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। प्रदेशसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको मुख्यमन्त्री शाहीले बताउनुभएको छ। ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का १४ र नेकपा (एमाले)का १० प्रदेशसभा सदस्य छन्।

मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गर्न यी दुई दलको समर्थन महत्वपूर्ण हुने देखिएको छ। मुख्यमन्त्रीले विश्वासको मत पाएपछि सरकारलाई पूर्णता दिने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box