बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध, १० ठाउँमा पूर्ण आवागमन बन्द
काठमाडौँ, ३ भदौ – बाढीपहिरोका कारण आज पनि देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार देशका विभिन्न स्थानमा १० वटा सडकखण्ड पूर्णरूपमा अवरुद्ध छन् भने चार ठाउँमा एकतर्फी रूपमा मात्रै सवारीसाधन सञ्चालन भइरहेका छन्।
प्रहरीका अनुसार इलामको मेची राजमार्ग, काभ्रेको बीपी राजमार्ग, मकवानपुरको कान्तिलोकपथ, सिन्धुपाल्चोकको अरनिको राजमार्ग र रसुवाको त्रिशूली–मैलुङ सडकखण्ड बाढीपहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएका छन्। त्यस्तै, नुवाकोटको टोखा–छहरे सडक, लमजुङको बेँसीसहर–मनाङ सडक, रुकुम पश्चिमको जाजरकोट–डोल्पा सडक तथा मुगुको नाग्म–गमगडी सडकखण्डमा पनि यातायात पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ।
यसैगरी बागलुङका कालीगण्डकी करिडोर र बागलुङ–बेनी सडक, मुस्ताङको मुस्ताङ–कोरला सडक तथा भोजपुरको मध्यपहाडी राजमार्गमा भने एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्। लगातारको वर्षाका कारण पहाडी तथा हिमाली जिल्लाका सडकमा पहिरो, गेग्रान र लेदो खस्ने क्रम जारी रहेकाले थप सडकखण्डसमेत प्रभावित हुनसक्ने प्रहरीले जनाएको छ। प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

