मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २ भदौ – देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतिर नेपाल नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मनसुनी वायुको प्रभावका कारण पश्चिम नेपालका विभिन्न स्थानमा वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ।

हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, देशका पहाडी भू–भागका धेरै स्थानमा तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ। रातिको समयमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। भारी वर्षाको सम्भावना रहेका पहाडी तथा हिमाली क्षेत्रमा बाढी, पहिरो तथा भू–क्षयको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

Facebook Comments Box