मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह
काठमाडौँ, १ भदौ – निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय र वस्तुगत बनाउन नियमितरूपमा विवरण अद्यावधिक गरिने जानकारी दिनुभएको हो।
कुनै मतदाताको मृत्यु भएको भए निजका एकाघरका परिवारका सदस्य वा अन्य व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र जानकारी गराउन आयोगले अनुरोध गरेको छ।
मृत्यु भएका मतदाताको विवरण हटाएर मतदाता नामावली अद्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतासँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले यस कार्यमा सहयोग गर्न आयोगले सबै नागरिकलाई आग्रह गरेको छ। मतदाता नामावली अद्यावधिक गर्ने कार्यमा नागरिकबाट सदाझैँ सहयोग प्राप्त हुने विश्वाससमेत आयोगले व्यक्त गरेको छ।

