म्यानपावर व्यवसायीले आजदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन रोक्ने
काठमाडौँ, १ भदौ – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजदेखि देशभरका म्यानपावर कार्यालय बन्द गर्ने भएको छ। सरकारसँग राखिएका मागबारे सहमति जुट्न नसकेपछि व्यवसायीले वैदेशिक रोजगारीमा श्रमिक पठाउने कामसमेत रोक्ने भएका हुन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सेवा शुल्क परिमार्जनसहित १५ बुँदे माग अघि सारेको छ। माग सम्बोधनका लागि सरकारलाई दिएको समयसीमामा सहमति हुन नसकेपछि आन्दोलनस्वरूप देशभरका म्यानपावर कार्यालय बन्द गर्ने निर्णय गरिएको संघले जनाएको छ।
संघका अध्यक्ष डिकबहादुर खत्रीले आन्दोलनका कार्यक्रमसँगै सरकारसँग वार्ता पनि जारी राखिएको बताउनुभएको छ। उहाँका अनुसार आज युवा, श्रम तथा रोजगार मन्त्रालयसँग पुनः छलफल हुँदैछ। यसअघि शुक्रबार पनि मन्त्रालय र व्यवसायीबीच प्रारम्भिक चरणको छलफल भएको थियो। छलफलमा व्यवसायीले आफ्ना मागबारे जानकारी गराउँदै धारणा राखेका थिए। मन्त्रालयका अधिकारीहरूले भने माग सम्बोधनका लागि भइरहेको प्रगति तथा मन्त्रालयको कार्य विवरणबारे जानकारी गराएका थिए।
संघले गत साउन ७ गते व्यवसायीहरूको विशेष भेला आयोजना गरी सरकारसमक्ष १५ बुँदे माग अघि सारेको थियो। व्यवसायीले वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यानपावर व्यवसायीलाई तिर्ने सेवा शुल्क निर्धारण गर्नुपर्ने, वैदेशिक रोजगार विभागबाट गरिएका कारबाही फिर्ता लिनुपर्नेलगायतका माग राखेका छन्।
सरकारसँगको वार्ता सकारात्मक निष्कर्षमा नपुगेपछि व्यवसायीले आजदेखि कार्यालय बन्द गर्ने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्ने निर्णय गरेका हुन्। वार्ता र आन्दोलनका कार्यक्रमलाई सँगसँगै अघि बढाउने संघले जनाएको छ।

