वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा सतर्कता अपनाउनु अनुरोध
काठमाडौं, १ मङ्सिर – देशभर दिनप्रतिदिन चिसो बढ्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार दैनिक तापक्रम घट्ने क्रम चलिरहेको छ।
‘यो नियमित प्रक्रियाबमोजिम नै तापक्रम घटिरहेको हो’, मौसमविद् नगरकोटीले भनिन्, ‘एकदमै ह्वात्तै घटेको अवस्था होइन।’
उनका अनुसार अहिले बिहान ७ बजे काठमाडौं उपत्यकाको तापक्रम ९ डिग्री सेल्सियस छ भने बिहान साढे ५ बजेको मापनमा ७.८ डिग्री सेल्सियस देखिएको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।
बिहीबारसम्म आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ । शुक्रबार भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
साथै चिसोबाट बच्न सुझाव दिँदै माैसम महाशाखाले भनिएको छ, ‘वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।’

