काठमाडौं उपत्यकामा आज सात स्थानबाट एलपी ग्यास बिक्री गरिँदै

काठमाडौँ, ३१ साउन – खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै काठमाडौं उपत्यकामा आज पनि विभिन्न सात स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गरिने भएको छ । नेपाल आयल निगमका अनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सातवटा बिक्री केन्द्रबाट विभिन्न कम्पनीका ग्यास सिलिण्डर बिक्री गरिनेछ ।

ग्यास बिक्री हुने स्थानमा टेकुस्थित नेपाल आयल निगमको परिसर, बूढानीलकण्ठको पशु सेवा शाखा चपली, कीर्तिपुरको राधास्वामी परिसर, नयाँ बजारस्थित जुडो हल परिसर, तारकेश्वर नगरपालिका परिसर, चन्द्रागिरि नगरपालिका कार्यालय परिसर र भक्तपुरको ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्र परिसर रहेका छन् ।

टेकुबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम र सगर ग्यास बिक्री गरिनेछ । बूढानीलकण्ठको चपलीस्थित पशु सेवा शाखाबाट नेपाल, एचपी र भानु तथा कीर्तिपुरको राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ग्यास उपलब्ध हुने निगमले जनाएको छ । त्यस्तै, नयाँ बजारस्थित जुडो हलबाट नेपाल, एचपी र ओम तथा तारकेश्वर नगरपालिकाबाट नेपाल र एचपी ग्यास बिक्री गरिनेछ ।

चन्द्रागिरि नगरपालिका कार्यालय परिसरबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट/सुगम र एसटीसी ब्रान्डका ग्यास सिलिण्डर बिक्री वितरण गरिनेछ । यसअघि शनिबार काठमाडौं जिल्लाका चार स्थानबाट करिब ९० वटा गाडीमार्फत विभिन्न कम्पनीका करिब ६ हजार ग्यास सिलिण्डर बिक्री गरिएको थियो । सोही व्यवस्थालाई निरन्तरता दिँदै आज सात स्थानबाट ग्यास बिक्री गर्न लागिएको नेपाल आयल निगमले जनाएको छ ।

Facebook Comments Box