झापामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, १० जनामा पुष्टि
भद्रपुर, ३१ साउन – वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस अर्थात् जेईको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो पटक मेचीनगरका एक पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा जेई सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भइसकेको छ ।
मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् । दुई जना उपचाररत छन् भने तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । जिल्लामा हालसम्म मेचीनगरका चार, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सङ्क्रमितमध्ये एक जना सात महिनाका बालकसमेत रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभएको छ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिसबाट जोगिन वर्षायाममा घर वरपर पानी जम्न नदिन तथा लामखुट्टेको टोकाइबाट बच्न आवश्यक सावधानी अपनाउन जनस्वास्थ्य निरीक्षक श्रेष्ठले सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।

