भोजपुरको डाँडागाउँमा ‘एक घर, एक धारा’ पुगेपछि खानेपानीको समस्या समाधान

भोजपुर, ३० साउन  – भोजपुर नगरपालिका–४ डाँडागाउँ टोलका १५ घरपरिवारको वर्षौँदेखिको खानेपानी समस्या समाधान भएको छ । ‘ओखिम खानेपानी आयोजना’ सञ्चालन गरी घरघरमा धारा जडान भएपछि स्थानीयवासीले बाह्रै महिना खानेपानीको सुविधा पाएका छन् ।घरमै धारा पुगेपछि खानेपानीका लागि टाढा धाउनुपर्ने बाध्यता हटेको छ । नियमित पानीको सुविधाले दैनिक जनजीवनसँगै सरसफाइ तथा पशुपालनमा समेत सहज भएको स्थानीयवासीले बताएका छन् ।

स्थानीय टिकादेवी खड्काले घरमै धारा जडान भएपछि वर्षौँदेखिको खानेपानी समस्या समाधान भएको बताउनुभयो । उहाँका अनुसार घरमै नियमित पानी आउन थालेपछि सरसफाइदेखि चौपायालाई पानी खुवाउने कामसमेत सहज भएको छ । अर्की स्थानीय ज्ञाद्रमाया पाण्डेले विगतमा खोलाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको स्मरण गर्दै घरमै धारा आएपछि समय र श्रम दुवै बचत भएको बताउनुभयो । खानेपानीको सुविधा भएपछि बालबालिकाको हेरचाह र घरायसी काममा समेत सहज भएको उहाँको भनाइ छ ।

निर्माण उपभोक्ता समिति अध्यक्ष ज्ञानबहादुर बस्नेतका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सुरु भएको आयोजना आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गरिएको हो । आयोजनामार्फत खानेपानीको समस्या भएका १५ घरमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । स्थानीय उपभोक्ताबाट रकम सङ्कलन गरी रु तीन लाखमा मुहान खरिद गरेर बस्तीमा पानी ल्याइएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । आयोजनालाई दीगो रूपमा सञ्चालन गर्न उपभोक्ता समिति सक्रिय रहेको उहाँले बताउनुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोषकुमार ठाकुरका अनुसार जनश्रमदान र कार्यालयको लगानीसहित करिब रु २५ लाखको लागतमा आयोजना सम्पन्न भएको हो । आयोजनाबाट खानेपानीसँगै स्थानीयवासीको सरसफाइ र पशुपालनमा समेत सुविधा पुगेको उहाँले बताउनुभयो ।

कार्यालयका इन्जिनियर दीपक यादवका अनुसार आयोजनामा एक हजार मिटर मुख्य पाइपलाइन र दुई हजार एक सय मिटर वितरण पाइपलाइन निर्माण गरिएको छ । आयोजनाबाट डाँडागाउँ टोलका १५ घरपरिवारले नियमित खानेपानीको सुविधा पाएका छन् ।

Facebook Comments Box