बाजुरा पहिरो अपडेटः बेपत्ता र घाइतेको पहिचान खुल्यो

बाजुरा, २९ साउन – बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएकी युवती र घाइते दुई जनाको पहिचान खुलेको छ । पहिरोमा परी २० वर्षीया प्रतीक्षा थापा बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । पहिरोमा परेर स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार धर्म थापाको बायाँ खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने रावलको टाउको, खुट्टा र शरीरमा चोट लागेको छ । दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएको छ ।

अविरल वर्षापछि गएको पहिरोले धर्म थापा र कर्णबहादुर थापाको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । पहिरोमा परेर धर्म थापाकी छोरी प्रतीक्षा बेपत्ता भएकी हुन् । बेपत्ता प्रतीक्षाको खोजीका लागि प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ । खोजी तथा उद्धार कार्यमा सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीसमेत खटिएका छन् ।

Facebook Comments Box