राष्ट्रियसभाको बैठक बस्दै, यसैबीच पाँच संसदीय समितिको पनि बैठक बस्दै

काठमाडौँ, २८ साउन – सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक अपराह्न १ बजेर १५ मिनेटमा सिंहदरबारमा बस्नेछ । बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ ले प्रस्ताव पेस गर्नुहुने सम्भावित कार्यसूची छ । यसैबीच, आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक पनि बस्दैछ ।

बिहान साढे ९ बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनमाथि छलफल हुनेछ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१’ मा परेको संशोधनमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरिनेछ । कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यताबारे छलफल हुनेछ ।

त्यस्तै, पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा खानेपानी आपूर्ति कार्ययोजनाको प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ । महिला तथा सामाजिक विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा राष्ट्रिय दलित आयोगको कामकारबाही तथा प्रगतिका सम्बन्धमा छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

Facebook Comments Box