माङसेबुङका ११ सामुदायिक विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम, २३ साउन – इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र वान्तवा भाषाको पठनपाठन अनिवार्य गरेको छ। गाउँपालिकाले राई समुदायका विद्यार्थीको बाहुल्य रहेका तीन विद्यालयमा यसै शैक्षिक सत्रदेखि वान्तवा भाषा तथा लिम्बू समुदायका विद्यार्थीको बाहुल्य रहेका थप तीन विद्यालयमा लिम्बू भाषा पाठ्यपुस्तक अनिवार्य विषयका रूपमा लागू गरेको हो।

शिक्षा शाखाका अनुसार माङसेबुङ–२ को सरस्वती आधारभूत, वडा नं. ४ को जनता आधारभूत र वडा नं. ६ को सिंहेश्वरी आधारभूत विद्यालयमा यस वर्षदेखि वान्तवा भाषा पढाइ सुरु भएको छ। यसअघि वडा नं. ६ स्थित चिसोपानी माध्यमिक विद्यालयमा मात्र वान्तवा भाषा अध्यापन हुँदै आएको थियो। यस्तै, वडा नं. १ का गजुरमुखी आधारभूत र मण्डिका आधारभूत तथा वडा नं. ३ को दुर्गा माध्यमिक विद्यालयमा यस वर्षदेखि लिम्बू भाषा पाठ्यपुस्तक लागू गरिएको छ।

मातृभाषा शिक्षा लागू भएका विद्यालयमा गाउँपालिकाले आफ्नै स्रोतबाट शिक्षकको तलबभत्ता व्यवस्था गर्ने गरी दरबन्दी सिर्जना गरेको छ। गाउँपालिका अध्यक्ष हेमन्त राईले संविधानले प्रत्येक समुदायलाई आफ्नो मातृभाषामा विद्यालय तथा शैक्षिक संस्था सञ्चालनको अधिकार दिएको उल्लेख गर्दै मातृभाषा शिक्षालाई प्राथमिकता दिइएको बताउनुभएको छ। माङसेबुङ गाउँपालिकाले गत जेठ १२ गतेदेखि लिम्बू भाषालाई गाउँपालिकाभर सरकारी कामकाजको भाषाका रूपमा समेत लागू गरेको छ।

Facebook Comments Box