बारामा एक सातामै डुबेर चार बालबालिकाको मृत्यु

बारा,  साउन – बारामा पानीमा डुबेर बालबालिकाको ज्यान जाने घटना बढ्दै गएको छ। पछिल्लो एक सातामै डुबेर चार जना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रबार कलैया उपमहानगरपालिका–१० मटिअर्वाकी छ महिनाकी सनाया खातुन घर नजिकैको नहरमा डुबेर गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

यसअघि सोमबार जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित सरिसवा नदीमा डुबेर तीन वर्षीया फुलतारा खातुनको पनि मृत्यु भएको थियो। खेल्ने क्रममा नदीमा डुबेका उनलाई उद्धार गरी अस्पताल पुर्‍याइए पनि बचाउन सकिएको थिएन। प्रहरीका अनुसार यही साताभित्र बाराका अन्य स्थानमा धानखेतमा जमेको पानी, पोखरी तथा अन्य जलाशयमा डुबेर थप दुई बालिकाले ज्यान गुमाएका छन्।

लगातार वर्षासँगै नदी, नहर, खोल्सा, पोखरी र खेतमा पानीको सतह बढेकाले बालबालिकालाई पानी नजिक एक्लै खेल्न नदिन, खुला नहर तथा जलाशय सुरक्षित बनाउन र जोखिमयुक्त स्थानमा विशेष सावधानी अपनाउन सरोकारवाला निकायले आग्रह गरेका छन्।

Facebook Comments Box