बाजुरामा बाढी बस्तीमा पस्दा १३ परिवार सुरक्षित स्थानमा सारिए

बाजुरा, ८ साउन – अविरल वर्षापछि आएको बाढी बाजुराको बडिमालिका नगरपालिका–९ स्थित सेलागाड र बाउली खोलाको दोभान नजिकको बस्तीमा पसेपछि १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराका अनुसार बिहीबार राति नै प्रभावित परिवारलाई घरका आवश्यक सामानसहित उद्धार गरी नजिकैका सुरक्षित स्थानीयवासीको घरमा राखिएको छ।

प्रहरीका अनुसार तीमध्ये तीन घर उच्च जोखिममा रहेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ अनुसार बाजुराका १०० भन्दा बढी गाउँ बाढी र पहिरोको उच्च जोखिममा रहेका छन्। यसैबीच, निरन्तर वर्षाका कारण खसेको पहिरोले बडिमालिका नगरपालिका–६ र जिल्ला कारागार पछाडिको सडक अवरुद्ध भएको छ। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box