आज केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षाको गतिविधि सक्रिय रहने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर अधिकांश स्थानमा बदली रहेको छ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ भने पहाडी भू–भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थान, मधेस प्रदेश, कर्णालीका पहाडी क्षेत्र तथा सुदूरपश्चिमका पहाडी र तराईका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरो जोखिमयुक्त क्षेत्र र डुबान हुन सक्ने स्थानमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

