चुरियामाई सुरुङको व्यवस्थापन अब स्थानीय समितिलाई, संरक्षण र पर्यटन प्रवर्द्धनमा जोड

हेटौँडा, २ साउन  – हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित चुरियामाई सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी स्थानीय चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ। उपमहानगरपालिकाले स्थानीय समुदायको अपनत्व बढाउँदै सुरुङको दीगो संरक्षण, प्रभावकारी व्यवस्थापन र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ जिम्मेवारी हस्तान्तरण गरिएको जनाएको छ।

उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार स्थानीय समुदायको सक्रिय सहभागिताबाट ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटन विकास र स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। जिम्मेवारी हस्तान्तरणसम्बन्धी सम्झौतामा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र समितिका अध्यक्ष प्रेमबहादुर भोम्जनले हस्ताक्षर गर्नुभएको छ।

सम्झौताअनुसार समितिले सुरुङको नियमित संरक्षण, सरसफाइ, मर्मतसम्भार, पर्यटक व्यवस्थापन तथा आवश्यक पूर्वाधार सञ्चालनको जिम्मेवारी वहन गर्नेछ। सुरुङ अवलोकनका लागि आउने पर्यटकबाट उपमहानगरपालिकाले निर्धारण गरेको प्रवेश शुल्क सङ्कलन गर्न सकिने व्यवस्था गरिएको छ। सङ्कलित रकम सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनमै खर्च गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

सम्झौताअनुसार सुरुङको मौलिक तथा ऐतिहासिक स्वरूपमा कुनै परिवर्तन गर्न नपाइनेछ। साथै, समितिले प्रत्येक वर्ष प्रगति विवरण तथा आय–व्यय प्रतिवेदन उपमहानगरपालिकामा पेश गर्नुपर्नेछ। उपमहानगरपालिकाले आवश्यक अनुगमन, निर्देशन र समन्वय गर्ने व्यवस्था पनि गरिएको छ।

विसं १९७२ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा निर्माण सुरु भई विसं १९७४ मा सम्पन्न भएको चुरियामाई सुरुङ तत्कालीन हेटौँडा–अमलेखगञ्ज रेलमार्गअन्तर्गत निर्माण गरिएको दक्षिण एसियाकै पहिलो रेल सुरुङ मानिन्छ। यसको प्राविधिक नेतृत्व तत्कालीन सडक विभागका मुख्य इन्जिनियर डिल्लीजङ्ग थापाले गर्नुभएको थियो।

लामो समय प्रयोगविहीन रहेको उक्त ऐतिहासिक सुरुङको संरक्षण तथा मर्मतपछि बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो। उपमहानगरपालिकाले उचित संरक्षण र प्रभावकारी प्रवर्द्धन गर्न सके चुरियामाई सुरुङलाई मकवानपुरकै महत्वपूर्ण ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरेको छ।

Facebook Comments Box