वीरेन्द्रनगर ‘शैक्षिक हब’ बनाउने अभियान, एआईदेखि दुई करोडको छात्रवृत्ति कोषसम्मका कार्यक्रम

सुर्खेत,  १ साउन – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई ‘शैक्षिक सुधार वर्ष’ घोषणा गर्दै नगरलाई ‘शैक्षिक हब’का रूपमा विकास गर्ने लक्ष्यसहित शिक्षा क्षेत्रमा महत्वाकांक्षी कार्यक्रम अघि सारेको छ। नगरपालिकाले विद्यालय शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल शिक्षक बैंक, स्टिम (STEM) शिक्षा, शिक्षक तथा प्रधानाध्यापकसँग कार्यसम्पादन करार, दुई करोड रुपैयाँको छात्रवृत्ति कोष सञ्चालनलगायतका कार्यक्रम कार्यान्वयन गर्ने भएको छ।

नगरप्रमुख मोहनमाया ढकालका अनुसार वीरेन्द्रनगरलाई उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्न १० वर्षे शिक्षा क्षेत्र योजना कार्यान्वयन गरिनेछ। सोही योजनाअनुसार शिक्षा क्षेत्रमा आवश्यक बजेट र कार्यक्रम चरणबद्ध रूपमा लागू गरिने नगरपालिकाले जनाएको छ।वीरेन्द्रनगरमा हाल माध्यमिक तहसम्म करिब ८० हजार विद्यार्थी अध्ययनरत छन्। नगरपालिकाले ल्याएका केही कार्यक्रम कर्णाली प्रदेशका सबै १० जिल्लाका विद्यार्थीले समेत उपयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

सामुदायिक विद्यालयमा विषयगत शिक्षक अभाव समाधान गर्न ‘डिजिटल शिक्षक बैंक’ स्थापना गरिनेछ। रिक्त शिक्षक पदमा यही बैंकमार्फत योग्य शिक्षक छनोट गरिने नगरपालिकाको नीति छ। अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव न्यूनीकरण गर्न नगरस्तरीय सिकाइ सहजीकरण केन्द्रलाई थप प्रभावकारी बनाइनेछ।

शिक्षाको गुणस्तर सुधारका लागि प्रधानाध्यापक र शिक्षकसँग कार्यसम्पादन करार गरिनेछ। विद्यार्थीको सिकाइ उपलब्धिका आधारमा विद्यालय र शिक्षकको मूल्याङ्कन गर्दै विद्यालयको वार्षिक नतिजाअनुसार स्तरीकरण गरी लगानीसमेत बढाइने व्यवस्था गरिएको छ।

नगरपालिकाले मध्यपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा दुई करोड रुपैयाँको छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ। उक्त कोषबाट नगरभित्रका जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि आर्थिक सहयोग उपलब्ध गराइनेछ। साथै ‘म बनाउँछु, मेरो नगर शिक्षा विकास कोष’मार्फत पनि लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने नीति लिइएको छ।

अटिजम भएका बालबालिकाका लागि प्रारम्भिक सिकाइ केन्द्र स्थापना, प्रारम्भिक बालविकास (ईसीडी) कक्षाको व्यवस्थापन सुदृढीकरण तथा आधारभूत र माध्यमिक शिक्षामा लक्षित वर्गको पहुँच विस्तार गर्ने कार्यक्रमसमेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ।सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि मध्यपश्चिम विश्वविद्यालय र सुर्खेत बहुमुखी क्याम्पससँग सहकार्य गरी शिक्षक मेन्टरिङ, प्रधानाध्यापक तथा विद्यालय कर्मचारीको क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ।

यस्तै, निवृत्त शिक्षक तथा कर्मचारीको सहभागितामा ‘वीरेन्द्रनगर थिङ्क ट्याङ्क’ गठन गरी शैक्षिक नीति, योजना र सुधारका विषयमा परामर्श लिने व्यवस्था गरिएको छ। अङ्ग्रेजी माध्यमबाट अध्यापन गर्ने शिक्षकको क्षमता अभिवृद्धिका लागि विशेष तालिम सञ्चालन गरिनेछ भने गैरसरकारी संस्था तथा निजी शैक्षिक संस्थासँगको साझेदारीलाई पनि प्राथमिकता दिइने नगरपालिकाले जनाएको छ।

चालु आर्थिक वर्षको अर्को विशेष कार्यक्रमका रूपमा ‘कक्षाकोठामा नगरप्रमुख’ अभियान सञ्चालन गरिनेछ। यसअन्तर्गत नगरप्रमुख स्वयं विद्यालय पुगेर विद्यार्थीसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। नगरपालिकाले यी कार्यक्रममार्फत वीरेन्द्रनगरलाई गुणस्तरीय, प्रविधिमैत्री र प्रतिस्पर्धी शिक्षा केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेको छ।

Facebook Comments Box