देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि
काठमाडौँ, ३१ असार – देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य राखिएकामा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो।कृषि विभागका महानिर्देशक राजेन्द्र कोइरालाका अनुसार गत वर्ष यही अवधिसम्म करिब ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। यस वर्ष भने मनसुनको अवस्थालगायत विभिन्न कारणले हालसम्म ५० प्रतिशत मात्रै रोपाइँ भएको छ।
प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ८७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। त्यसपछि गण्डकीमा ६५.९ प्रतिशत, कर्णालीमा ६० प्रतिशत, लुम्बिनीमा ५९ प्रतिशत र बागमतीमा ५७.१ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ। कोशी प्रदेशमा ३२ प्रतिशत र मधेस प्रदेशमा ३२.७ प्रतिशत मात्रै रोपाइँ भएको छ।
विभागका अनुसार देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेकाले आगामी एक साताभित्र धान रोपाइँको गति थप बढ्ने अपेक्षा गरिएको छ। बाढी, पहिरो वा अन्य प्राकृतिक विपद् नआएमा बाँकी क्षेत्रमा पनि रोपाइँ तीव्र रूपमा अघि बढ्ने विश्वास विभागको छ।

