देशभर मनसुन सक्रिय, कोशी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३० असार  – देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा औसत अवस्थाभन्दा उत्तरतर्फ नेपालका तराई क्षेत्र नजिक रहेकाले वर्षाको प्रभाव व्यापक रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, मधेस प्रदेश, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। विभागले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र, साथै कोशी, बागमती र गण्डकीका तराई तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेशको तराई तथा गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा पुनः भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। मौसमविद्का अनुसार २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा भएमा त्यसलाई भारी वर्षा मानिन्छ।

विभागले वर्षा हुने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ। साथै, प्रतिकूल मौसमका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागका पछिल्ला मौसम सूचना नियमित रूपमा पालना गर्न अनुरोध गरेको छ।

Facebook Comments Box