रामधुनी वन कार्यालयले वार्षिक ३५ हजारभन्दा बढी बिरुवा उत्पादन गर्दै, निःशुल्क वितरण

धरान, २८ असार – सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष करिब ३५ हजारभन्दा बढी वनजन्य, नगदे तथा बहुवर्षीय प्रजातिका बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको छ। विसं २०७९ देखि सञ्चालनमा रहेको नर्सरीबाट उत्पादन हुने बिरुवाको माग वर्षेनी बढ्दै गएको कार्यालयले जनाएको छ।

वन सहायक काजी आचार्यका अनुसार नर्सरीमा खयर, ज्याकाराण्डा, बेल, सिसौ, अमला, अर्जुन, कागती, तेजपत्ता र अम्बकलगायत विभिन्न प्रजातिका बिरुवा उत्पादन गरिन्छ। केही बिरुवा यसै वर्ष उत्पादन गरिएका हुन् भने केही बहुवर्षीय बिरुवा अघिल्ला वर्षदेखि संरक्षण गर्दै आइएको उहाँले जानकारी दिनुभयो।

रामधुनी मन्दिर नजिकै कार्यालय रहेकाले दर्शनका लागि आउने भक्तजन तथा भारतबाट आउने धार्मिक पर्यटकले समेत यहाँबाट बिरुवा लैजाने गरेका छन्। यसले रामधुनीमा उत्पादन भएका बिरुवा देशका विभिन्न जिल्ला र सीमापारसम्म पुग्ने गरेका छन्।

कार्यालयका अनुसार असार, साउन र भदौ महिनामा बिरुवाको माग सबैभन्दा बढी हुने गर्दछ। उत्पादित बिरुवा सर्वसाधारण, सामुदायिक वन उपभोक्ता समूह तथा विभिन्न संस्थालाई आवश्यकताअनुसार वितरण गरिन्छ। वन क्षेत्रमा रोप्न मिल्ने प्रजातिका बिरुवा मात्र उत्पादन गर्ने भएकाले कृषि प्रयोजनका बिरुवा उत्पादन नगरिएको कार्यालयले जनाएको छ।

व्यक्तिगत रूपमा दुई–चारवटा बिरुवा लिन कुनै कागजात आवश्यक पर्दैन। संस्थागत रूपमा बिरुवा लिन सम्बन्धित वडाको सिफारिस अनिवार्य छ भने ५० वटाभन्दा बढी बिरुवा माग गर्नेले निवेदन, नागरिकताको प्रतिलिपि र जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि बुझाउनुपर्ने व्यवस्था रहेको वन सहायक आचार्यले बताउनुभयो।

उहाँका अनुसार फागुन महिनाबाट नर्सरीको काम सुरु गरिन्छ। फागुनमा बीउ रोपिएपछि असारदेखि बिरुवा वितरण सुरु हुने गरेको छ। नर्सरी व्यवस्थापनका लागि छुट्टै कर्मचारी खटाइएको छ। बिरुवाको संरक्षण र व्यवस्थापनलाई प्राथमिकतामा राखिएको कार्यालयले जनाएको छ। बिरुवा नष्ट भए सम्बन्धित कर्मचारीले आर्थिक जिम्मेवारीसमेत वहन गर्नुपर्ने व्यवस्था भएकाले व्यवस्थापनलाई संवेदनशील रूपमा लिइएको छ।

बिरुवा उत्पादन र वितरणसँगै कार्यालयले सामुदायिक वनलाई प्राविधिक सहयोग, छपान तथा कटान कार्यमा सहजीकरण, राष्ट्रिय वन क्षेत्रमा नियमित गस्ती तथा वन उपभोक्ता समूहसँग समन्वय गर्दै आएको छ। केही दिनअघि सिंहवाहिनी सामुदायिक वनमा वृक्षरोपण कार्यक्रमसमेत सम्पन्न गरिएको कार्यालयले जनाएको छ।

Facebook Comments Box