आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, पश्चिममा भारी वर्षा हुन सक्ने
काठमाडौं, २५ असार – आज पनि देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान मोडेलका अनुसार शुक्रबारदेखि आइतबारसम्म भने पश्चिम नेपालका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने संकेत देखिएको छ।मौसमविद् विनोद पोखरेलका अनुसार विभिन्न मौसम पूर्वानुमान मोडेलले पश्चिम नेपालमा भारी वर्षाको सम्भावना देखाएका छन्।
यद्यपि वर्षाको मात्रा र प्रभावित क्षेत्र मोडेलअनुसार फरक–फरक हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ। उहाँका अनुसार कतिपय स्थानमा पूर्वानुमानभन्दा बढी र कतिपय स्थानमा कम वर्षा हुन सक्ने सम्भावना रहेकाले स्थानीय अवस्था हेरेर सावधानी अपनाउनु आवश्यक छ। मौसमविद्हरूले वर्षासँगै पहाडी तथा हिमाली क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने, साथै नदी तथा खोलामा पानीको बहाव उच्च हुन सक्ने भएकाले सतर्क रहन सुझाव दिएका छन्।
यसैबीच, पूर्वी तराईमा भने अपेक्षाकृत कम वर्षा भइरहेको छ। मौसम पूर्वानुमानमा वर्षाको सम्भावना देखिए पनि धेरै स्थानमा उल्लेख्य वर्षा हुन नसकेको मौसमविद् पोखरेलले बताउनुभयो। उहाँका अनुसार पहाडी भूभागले वर्षा गराउने बादललाई माथितर्फ उकास्न सहयोग गर्ने भएकाले त्यहाँ बढी वर्षा भइरहेको छ। तर समथर तराई क्षेत्रमा उक्त प्रक्रिया कमजोर हुने भएकाले बादल बने पनि पर्याप्त वर्षा हुन नसकेको उहाँको भनाइ छ।

