नेपाली राष्ट्रिय फुटबल टोली आज म्यानम्यारसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै
काठमाडौं, २५ भदौ – फिफा विश्वकपअन्तर्गत पहिलो चरण छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली आज सोमबार म्यानम्यारसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ। खेल यंगोनस्थित थुउन्ना स्टेडियममा नेपाली समयानुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ।
पहिलो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको नेपाल आजको खेलमा म्यानमारलाई घरेलु मैदानमा हराउन चाहन्छ। उता म्यानमार पनि नेपालविरुद्ध जित हासिल गर्न चाहन्छ। पहिलो खेलमा अञ्जन विष्ट पेनाल्टीमा चुक्दा नेपाली टोलीले जितको सुन्दर अवसर गुमाउन पुग्यो।
पहिलो खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले दुई खेलाडीलाई राष्ट्रिय टोलीमा डेब्यु दिएका थिए। त्रिभुवन आर्मी फुटबल क्लबका जिलेस्पीजंग कार्कीले सुरुवाती रोजाइमा स्थान बनाउँदै डेब्यु गरे। दोस्रो हाफमा जावलाखेल युथ क्लबका हिसुव थपलियाले अञ्जन विष्टको स्थान लिदै डेब्यु गरेका थिए।
राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका डिफेन्डर छिरिङ लामा, आशिष गुरुङ र अन्जन राई, मिडफिल्डर उत्सव राई, फरवार्ड दिनेश हेन्जनसँगै यसअघि नै टोलीमा स्थान बनाइसकेका अभिषेक बराल र कृतिशरत्न छुन्जुले डेब्यु गर्न बाँकी छ।
नेपाली टोली
गोलरक्षक – किरणकुमार लिम्बू, अभिषेक बराल र दीप कार्की
डिफेन्डर – सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा र अञ्जन राई
मिडफिल्डर – एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, कृतिशरत्न छुन्जु, उत्सव राई
फरवार्ड – आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजङ्ग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया