पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै ७२ वर्षपछि स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा
काठमाडौँ, २४ असार – फिफा विश्वकप–२०२६ अन्तर्गत अन्तिम १६ को अन्तिम खेलमा स्विट्जरल्यान्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। क्यानडाको बीसी प्लेस, भ्यानकुभरमा सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
पेनाल्टीमा स्विट्जरल्यान्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले सफल प्रहार गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। म्यानुअल अकांजीको प्रहार भने सफल हुन सकेन। कोलम्बियाका तर्फबाट जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले पेनाल्टीमा गोल गरे। तर डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजले प्रहार चुकाएपछि कोलम्बिया प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।
यो जितसँगै स्विट्जरल्यान्डले सन् १९५४ यता पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ। ७२ वर्षपछि अन्तिम आठमा पुगेको स्विट्जरल्यान्डले अब सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ।

