डोल्पामा बाढीले बगाउँदा एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा, २१ असार – डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा शनिबार राति आएको बाढीमा परी एक महिलाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निरन्तर वर्षापछि धुलाखोला तथा आसपासका खहरेमा आएको हिलोमिश्रित बाढी आइतबार बिहान करिब ३ बजे गाउँमा पसेको थियो। बाढीमा परी स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विक गम्भीर घाइते भएकी थिइन्।

उद्धारपछि उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिनुभयो। बाढीमा परी सोही गाउँका अन्दाजी ५० वर्षीय चाउरी विक, ४४ वर्षीय रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीया निरुता विक, १३ वर्षीया सीता विक र ६५ वर्षीय जस विक घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेहरूको उपचार स्थानीय झ्याकोट स्वास्थ्य चौकीमा भइरहेको छ। घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जुम्ला रेफर गरिएको छ। स्थानीयका अनुसार बाढीले केहीलाई करिब १५–१६ मिटरसम्म बगाएको थियो, जसका कारण घाइतेहरूको ढाड, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ।

घटनालगत्तै प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप पाँच जना प्रहरी, नेपाली सेनाका १० जना र सशस्त्र प्रहरी बलका ११ जना घटनास्थलतर्फ परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिनुभयो। प्रहरीका अनुसार बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन, थप उद्धार तथा राहत वितरणको कार्य जारी छ।

Facebook Comments Box