पाराग्वेलाई हराउँदै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौं, २१ असार –  साविक उपविजेता फ्रान्सले पाराग्वेलाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको फिलाडेल्फियामा सम्पन्न राउन्ड अफ १६ अन्तर्गतको खेलमा फ्रान्सले पाराग्वेमाथि १–० को कठिन जित दर्ता गर्दै अन्तिम आठमा प्रवेश गरेको हो।

फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले निर्णायक गोल गरे। खेलको ७०औँ मिनेटमा डिजायर डुएलाई पेनाल्टी क्षेत्रभित्र लडाइएपछि प्राप्त पेनाल्टीलाई एम्बाप्पेले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यही गोल फ्रान्सको जितका लागि निर्णायक बन्यो।जारी विश्वकपमा एम्बाप्पेको यो सातौँ गोल हो। उनी अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँगै प्रतियोगितामा सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त शीर्ष स्थानमा छन्।

साथै, विश्वकपमा एम्बाप्पेको कुल गोल संख्या १९ पुगेको छ, जुन मेसीको २० गोलको कीर्तिमानभन्दा एक गोलले कम हो। खेलभर फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै ५९ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको थियो। फ्रान्सले १५ वटा प्रहार गर्दा पाराग्वेले पाँचवटा मात्रै प्रहार गर्न सक्यो, जसमध्ये एउटा मात्र लक्ष्यमा परेको थियो।

विश्वकपमा १८औँ सहभागिता जनाएको फ्रान्स दशौँ पटक क्वार्टरफाइनलमा पुगेको हो। अब सेमिफाइनल प्रवेशका लागि फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। यी दुई टोलीबीच सन् २०२२ को विश्वकपको सेमिफाइनलमा पनि भेट भएको थियो, जहाँ मोरक्कोलाई पराजित गर्दै फ्रान्स फाइनल पुगेको थियो।

Facebook Comments Box