जर्मनीमा कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु

काठमाडौं, १६ असार  – जर्मनीमा एक व्यक्तिले आफ्नी श्रीमती र तीन महिनाकी छोरीसँग सम्बन्धित अभिभावकत्व विवादका क्रममा एक युवा कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार घटनामा चार महिला र दुई पुरुषको ज्यान गएको छ। सबै मृतक उक्त कल्याण केन्द्रका कर्मचारी रहेका छन्।

गोलीकाण्ड हुँदा तीन महिनाकी शिशु र उनकी आमा कार्यालयभित्रै रहेका भए पनि उनीहरू भने सकुशल रहेको अधिकारीहरूले बताएका छन्। प्रहरीले घटनामा संलग्न मुख्य संदिग्धसहित तीन जनालाई पक्राउ गरेको छ। घटनापछि सर्वसाधारणका लागि थप सुरक्षा जोखिम नरहेको प्रहरीले जनाएको छ।

जर्मनीकी आन्तरिक मामिला मन्त्री डानिएला बेहेरेन्सले प्रारम्भिक अनुसन्धानका आधारमा घटना पारिवारिक विवादसँग सम्बन्धित रहेको बताएकी छन्। प्रहरीका अनुसार स्थानीय समयअनुसार सोमबार दिउँसो १२:१० बजे युवा कल्याण केन्द्रमा गोली चलेको सूचना प्राप्त भएको थियो। घटनास्थलमै चार महिला र एक पुरुषको मृत्यु भएको थियो भने अर्का एक जनाको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

ल्युनेबर्ग प्रहरी प्रमुख काथ्रिन शुलका अनुसार मुख्य संदिग्ध ४५ वर्षीय टर्की मूलका व्यक्ति हुन्। उनी जर्मनीमै जन्मिएका थिए र हानोभरमा बसोबास गर्दै आएका थिए। घटनाको दिन उनी आफ्नी छोरीको अभिभावकत्वसम्बन्धी छलफलका लागि कल्याण केन्द्रमा उपस्थित भएका थिए। प्रहरीका अनुसार उनी यसअघि केही धम्कीसम्बन्धी घटनाका कारण प्रहरीको निगरानीमा रहे पनि हिंसात्मक व्यक्तिका रूपमा वर्गीकृत गरिएको थिएन। साथै, उनीसँग हतियार राख्ने कानुनी अनुमति पनि थिएन।

गोलीकाण्डपछि संदिग्ध एक महिलाले चलाएको कारमा चढेर घटनास्थलबाट फरार भएका थिए। प्रहरीले उनीहरूलाई रोक्न चेतावनी दिएपछि कारमाथि गोली प्रहार गरेको जनाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीले नजिकैको ग्रामीण क्षेत्रमा चेकपोस्ट राखेर पाङ्ग्रा फुटाइएको कार रोकेको थियो। त्यसपछि हतियारधारी प्रहरीले कारभित्र रहेका व्यक्तिहरूलाई बाहिर निकालेर नियन्त्रणमा लिएको थियो। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

Facebook Comments Box