विश्वकप फुटबलः इराकमाथि सेनेगलको ५–० को शानदार जित

काठमाडौँ, १३ असार – फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा सेनेगलले इराकलाई ५–० गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। तीन खेलबाट तीन अङ्क जोडेको सेनेगल समूहको तेस्रो स्थानमा रहे पनि उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीमध्ये पर्न सक्ने स्थितिमा पुगेको छ। फराकिलो जितका कारण टोलीले आफ्नो गोलअन्तर पनि उल्लेखनीय रूपमा सुधार गरेको छ।

सेनेगलले खेलको चौथो मिनेटमै हबिब डियाराको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफमा थप गोल हुन नसके पनि दोस्रो हाफमा सेनेगल आक्रामक रूपमा प्रस्तुत भयो। खेलको ५६औँ मिनेटमा इस्माइला सारले गोल गर्दै अग्रता २–० बनाए। त्यसपछि पापे गुइएले ५९औँ र ७१औँ मिनेटमा दुई गोल थपे।

अन्तिमतिर ८२औँ मिनेटमा इलिमान एनडिएले पाँचौँ गोल गर्दै सेनेगलको शानदार जित सुनिश्चित गरे।यस जितसँगै सेनेगल विश्वकप इतिहासमा एकै खेलमा पाँच गोल गर्ने पहिलो अफ्रिकी टोली बनेको छ। अब टोलीको नकआउट यात्रा अन्य समूहका नतिजामा निर्भर रहनेछ।

Facebook Comments Box