विष्णु पौडेलको गिरफ्तारीप्रति एमाले अध्यक्ष ओलीको आपत्ति
काठमाडौं, असार ९ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै सरकारको कदमको भर्त्सना गर्नुभएको छ। सोमबार जारी प्रेस वक्तव्यमा अध्यक्ष ओलीले उपाध्यक्ष पौडेलको गिरफ्तारीलाई एमालेविरुद्ध भइरहेको राजनीतिक प्रतिशोध र षड्यन्त्रको निरन्तरता भएको आरोप लगाउनुभएको छ।
पौडेललाई सोमबार सुर्खेतस्थित एक होटलबाट पार्टीको कार्यक्रम चलिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार उहाँमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गरिनेछ। वक्तव्यमा अध्यक्ष ओलीले पौडेललाई गैरकानुनी ढंगले ‘अपहरण शैलीमा’ पक्राउ गरिएको दाबी गर्दै यस घटनाको घोर निन्दा र भर्त्सना गर्नुभएको छ। उहाँले एमाले सधैं कानुनी शासन, सुशासन र विधिको शासनको पक्षमा रहेको उल्लेख गर्दै वर्तमान सरकारले विपक्षी दलप्रति अलोकतान्त्रिक र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको आरोप लगाउनुभएको छ।
अध्यक्ष ओलीले पौडेल सुर्खेतको कार्यक्रम सकेर भोलिपल्ट काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यक्रम रहेको स्मरण गराउँदै आवश्यक परे सोधपुछ वा अनुसन्धानका लागि अन्य कानुनी विकल्प उपलब्ध हुँदाहुँदै पक्राउ गरिएको बताउनुभएको छ। उहाँले सार्वजनिक पदमा रहेर कानुनको सम्मान गर्दै आएका राजनीतिक व्यक्तित्वलाई राजनीतिक लाभ र प्रचारका लागि नियोजित रूपमा पक्राउ गरिएको आरोप लगाउँदै यसलाई सत्ताको उन्मादबाट प्रेरित अधिनायकवादी कदमको संज्ञा दिनुभएको छ।
एमालेले वक्तव्यमार्फत वर्तमान सरकार लोकतान्त्रिक मूल्य र मान्यताबाट विचलित हुँदै सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख भएको आरोपसमेत लगाएको छ। साथै विपक्षी दलका नेताहरूलाई लक्षित गरेर गरिएका यस्ता गतिविधि तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिइएको छ। वक्तव्यमा एमालेले सरकारका कथित स्वेच्छाचारी र लोकतन्त्रविरोधी गतिविधिविरुद्ध एकजुट भएर प्रतिवाद गर्न सम्पूर्ण लोकतान्त्रिक शक्तिहरूलाई आह्वान गरेको छ।

