निःशुल्क हवाई उद्धार सेवाले गर्भवती र सुत्केरीलाई राहत
बागलुङ, ३ असार – गण्डकी प्रदेश सरकारले दुर्गम तथा विकट क्षेत्रका गर्भवती र सुत्केरी महिलाको ज्यान बचाउन सञ्चालन गरेको निःशुल्क हवाई उद्धार सेवा प्रभावकारी बन्दै गएको छ। ग्रामीण क्षेत्रमा समयमै उपचार नपाएर ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हेलिकप्टरमार्फत सुविधा सम्पन्न अस्पतालमा पुर्याउने उद्देश्यले प्रदेश सरकारले सात वर्षअघि यो सेवा सुरु गरेको थियो।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म ७१ जना गर्भवती तथा सुत्केरीले यस सेवाबाट लाभ लिएका छन्। सेवाका लाभग्राहीमध्ये सबैभन्दा धेरै बागलुङ जिल्लाका रहेका छन्।
मन्त्रालयका तथ्याङ्कअनुसार:
- २०७६ मा १० जना,
- २०७७ मा ३३ जना,
- २०७८ मा ८ जना,
- २०७९ मा ५ जना,
- २०८० मा ४ जना,
- २०८१ मा १ जना,
- २०८२ मा ६ जनाले सेवा लिएका छन्।
यसअघि २०७६ सालभन्दा अगाडि पनि चार जनाले हवाई उद्धार सेवा प्राप्त गरेका थिए।
स्वास्थ्य मन्त्रालयका स्वास्थ्य तथ्याङ्क अधिकृत बुद्धिसागर अधिकारीका अनुसार बागलुङबाट मात्रै ३० जना गर्भवती तथा सुत्केरीले सेवा लिएका छन्। त्यसपछि म्याग्दीका १८ जना, गोरखाका ६ जना, मुस्ताङका ५ जना, लमजुङका ४ जना तथा पर्वत र मनाङका २/२ जना महिलाले सेवा प्राप्त गरेका छन्।
अधिकारीका अनुसार पछिल्ला वर्षहरूमा जिल्ला तथा स्थानीय तहका अस्पतालमा प्रसूति सेवा विस्तार र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुन थालेपछि हवाई उद्धारको आवश्यकता घट्दै गएको छ। यद्यपि २०७८ सालपछि घट्दो क्रममा रहेको उद्धार संख्या २०८२ मा केही बढेको देखिएको छ।
गर्भवती महिला तथा जन्मिएको २८ दिनसम्मका नवजात शिशुको स्वास्थ्यमा जटिल समस्या देखिएमा प्रदेश सरकारले हेलिकप्टरमार्फत निःशुल्क उद्धार गर्दै आएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेका अनुसार दुर्गम भौगोलिक अवस्थाका कारण कतिपय क्षेत्रमा गर्भवतीलाई समयमै अस्पताल पुर्याउन कठिन हुने भएकाले हवाई उद्धार सेवा आवश्यक बनेको हो।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पनि निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्न १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। चालु आर्थिक वर्षमा पनि सोही बराबरको बजेट छुट्याइएको थियो।

