विश्वकप उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत, दक्षिण अफ्रिका २–० ले पराजित
काठमाडौं, २९ जेठ – फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि २–० को सहज जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। मेक्सिकोको ऐतिहासिक एज्टेका रंगशालामा भएको खेलमा घरेलु टोलीका जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे। तीन फरक विश्वकप आयोजना गर्ने विश्वकै पहिलो रंगशाला बनेको एज्टेकामा दर्शकको उल्लेख्य उपस्थितिबीच मेक्सिकोले प्रभावशाली प्रदर्शन गरेको हो।
खेलको नवौं मिनेटमै जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए। दक्षिण अफ्रिकाका गोलरक्षक रोनवेन विलियम्सबाट आएको बललाई डिफेन्डरले नियन्त्रण गर्न नसक्दा इरिक लिराको पासमा क्विनोनेसले गोल गरेका थिए। उनले पहिलो हाफको ४२औं मिनेटमा गरेको अर्को प्रहार भने गोलपोस्टमा लागेर फर्किएको थियो।
दोस्रो हाफमा दक्षिण अफ्रिकाले लगातार झट्का बेहोर्नुपर्यो। ४९औं मिनेटमा विपक्षी खेलाडीलाई लडाएपछि सेफेलो सिथोलले रातो कार्ड पाएर मैदान छाडे। त्यसपछि १० खेलाडीमा सीमित भएको दक्षिण अफ्रिकाविरुद्ध मेक्सिकोले दबाब कायम राख्यो। खेलको ६७औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए। ८४औं मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले पनि रातो कार्ड पाएपछि टोली नौ खेलाडीमा सीमित भयो।
दोस्रो हाफको इन्जुरी समयमा मेक्सिकोका सेजर मोन्टेसले रातो कार्ड पाएपछि खेलमा कुल तीन खेलाडी मैदानबाट बाहिरिएका थिए। यसै खेलमार्फत मेक्सिकोका युवा खेलाडी गिल्बर्टो मोराले विश्वकपमा डेब्यु गर्दै मेक्सिको तथा उत्तर अमेरिकाबाट विश्वकप खेल्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाए। उनी फिफा विश्वकप २०२६ का सबैभन्दा कम उमेरका खेलाडीसमेत हुन्।
जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले तीन अंक जोडेको छ। यस नतिजाले मेक्सिकोको नकआउट चरण यात्रालाई सहज बनाएको छ भने दक्षिण अफ्रिकामाथि सुरुमै दबाब बढेको छ। यसै समूहअन्तर्गत अर्को खेल चेक गणतन्त्र र दक्षिण कोरियाबीच नेपाली समयअनुसार बिहान पौने ८ बजे सुरु हुनेछ।

