पश्चिमी वायुको प्रभाव : पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
काठमाडौं, २४ जेठ – देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली र वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बदली देखिएको छ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली भूभागमा सामान्य बदली रहने तथा मधेस प्रदेशसहित बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै मधेस प्रदेशसहित अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यसैबीच मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तापक्रम उल्लेख्य रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि कोशी प्रदेशसहित देशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने मधेस प्रदेश र बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ। रातिको समयमा कोशी प्रदेशका केही तथा मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।महाशाखाले तराईका क्षेत्रमा बढ्दो गर्मी र उच्च तापक्रमका कारण आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेको छ।

