आज १९औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ,  १५ जेठ – नेपालमा आज १९औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । गणतन्त्र दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रविरुद्ध आह्वान गरेको जनआन्दोलन र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले सञ्चालन गरेको सशस्त्र सङ्घर्षको उपलब्धिस्वरूप नेपालले गणतान्त्रिक शासन व्यवस्थाको अभ्यास थालेको १९ वर्ष पूरा भएको हो ।

विसं २०६५ जेठ १५ गते बसेको जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । सोही ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।गणतन्त्र स्थापनासँगै नेपाली जनताले नागरिक सर्वोच्चता, स्वतन्त्रता, समावेशी समानुपातिक प्रतिनिधित्व तथा सामाजिक न्यायसहितको लोकतान्त्रिक अधिकार प्राप्त गरेका थिए ।

गणतन्त्र दिवसलाई वंशीय शासन व्यवस्थामाथि जनताको विजयका रूपमा समेत लिने गरिन्छ । यसैबीच, गणतन्त्र दिवसका अवसरमा सरकारले आज काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्दै छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्चपदस्थ व्यक्तित्वहरूको उपस्थिति रहनेछ । समारोहमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्रीले सम्बोधन नगर्ने भएपछि मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपतिलाई सम्बोधनका लागि अनुरोध गरिएको हो । यसअघि गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहँदै आएको थियो । यस वर्ष भने प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्री समारोहमा सहभागी भने हुने स्रोतले जनाएको छ ।

Facebook Comments Box