बाजुराको लाम्पाटामा सीमा विवादपछि थप सुरक्षाकर्मी परिचालन

धनगढी, १०  जेठ – हिमाली गाउँपालिका–३ लाम्पाटा मा सीमा विवादलाई लिएर कुटपिटको घटना भएपछि त्यस क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीका अनुसार खार्पुनाथ गाउँपालिका–२ थली का स्थानीयको समूहले हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गारा गुरुङ सहित पाँच जनामाथि कुटपिट गरेका थिए ।

घटनाका कारण ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियानअन्तर्गत पुगेको टोली पनि अवरोधका कारण साइपाल बेसक्याम्प पुग्न नसकी फर्किएको थियो । उक्त टोलीको नेतृत्व गोपाल हमाल ले गरेका थिए । घटनापछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक लक्ष्मीराज जोशी को नेतृत्वमा १० जनाको प्रहरी टोली लाम्पाटातर्फ पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुरा का सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाही ले घटनास्थलको वस्तुगत अवस्था बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको जानकारी दिए । उनका अनुसार शनिबार प्रस्थान गरेको टोली आइतबार लाम्पाटा पुग्नेछ । सशस्त्र प्रहरी टोलीको नेतृत्व प्रहरी सहायक निरीक्षकले गरिरहेका छन् ।

लाम्पाटामा प्रहरी चौकी निर्माण तथा सीमा विवादकै विषयलाई लिएर विवाद भएको बताइएको छ । कुटपिटमा घाइते भएका वडा सदस्यसहित अन्य घाइतेहरूको काठमाडौंमा उपचार गरिएको थियो । स्वास्थ्य अवस्था सामान्य भएपछि उनीहरू सबै अस्पतालबाट डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box