तीन महिनासम्म कर्मचारीलाई वैदेशिक भ्रमणमा नपठाउन सरकारको निर्देशन
काठमाडौं, ११ वैशाख – सरकारले आगामी तीन महिनासम्म कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न निर्देशन दिएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले मन्त्रालय, आयोग तथा सबै सरकारी निकायलाई पत्राचार गर्दै यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो।
सरकारले चैत १३ गते स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको सन्दर्भमा उक्त निर्णय गरिएको बताइएको छ।
प्रधानमन्त्री कार्यालयद्वारा जारी निर्देशनमा भनिएको छ, “कर्मचारी वैदेशिक भ्रमणमा जाँदा उक्त कार्यसूचीको कार्यान्वयनमा बाधा उत्पन्न हुन सक्ने भएकाले तीन महिनासम्म कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न अनुरोध छ।” सरकारले शासकीय सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन यो कदम चालेको जनाएको छ।

