‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

काठमाडौँ, १० चैत – सरकारले निषेधित क्षेत्रमा पदयात्रा गर्ने पदयात्रीले अनिवार्य रूपमा पथप्रदर्शक (ट्रेकिङ गाइड) साथमा लिनुपर्ने व्यवस्था पुनः स्मरण गराएको छ। अध्यागमन विभाग का अनुसार देशका विभिन्न १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा गर्नुअघि विभागबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने प्रावधान रहेको छ।

निषेधित क्षेत्रमा विदेशी पदयात्रीलाई समूहगत रूपमा एजेन्सीमार्फत मात्र अनुमति दिइने व्यवस्था रहेको छ। यससम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत सञ्चालन गरिएकाले प्रक्रिया झन्झटरहित, छिटो र सेवाग्राहीमैत्री बनाइएको विभागले जनाएको छ।

विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालका अनुसार पदयात्रा अनुमतिसम्बन्धी प्राविधिक समस्या समाधानका लागि सम्पर्क सुविधा पनि उपलब्ध गराइएको छ। साथै, विभागीय निर्णयअनुसार अब एकल पदयात्रीलाई समेत अनुमति दिने व्यवस्था गरिएको छ, तर गाइड अनिवार्य रहनेछ।

पदयात्राका लागि एजेन्सीमार्फत आवेदन दिनुपर्ने, ट्रेकिङ गाइड अनिवार्य रूपमा साथमा हुनुपर्ने र आपत्कालीन अवस्थामा उद्धारको जिम्मेवारी सम्बन्धित एजेन्सीले लिनुपर्ने व्यवस्था गरिएको छ। एक ट्रेकिङ गाइडसँग बढीमा सात जना पदयात्री रहनेगरी अनुमति दिने प्रावधान पनि तय गरिएको छ।

विदेशी नागरिकले आफ्नै देशबाट भिसा आवेदन नम्बरका आधारमा पदयात्रा अनुमति लिन सक्ने व्यवस्था मिलाइएको छ। यस व्यवस्थाले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा पदयात्रीको सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box