दाउन्ने सडकखण्डमा एकतर्फी सवारी सञ्चालन

नवलपरासी पूर्व, ८ चैत – पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्डमा एकतर्फी सवारी सञ्चालनमा आएको छ। वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएको नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्ड आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हाल सडकमा पालैपालो सवारी सञ्चालन गरिँदै आएको छ। दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर लामो सवारी जाम रहेको छ। तीन दिनसम्म सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका थिए। अहिले पनि सडक पूर्ण रूपमा सुचारु हुन नसक्दा यात्रुले सास्ती भोगिरहेका छन्।

नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत पर्ने दाउन्ने क्षेत्रमा सडक विस्तारको काम जारी रहेकाले वर्षा हुँदा सडक हिलो र चिप्लो भई सवारी सञ्चालनमा समस्या आउने गरेको छ। विशेषगरी उकालो भाग पार गर्न सवारी साधनलाई कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। यस सडकखण्डको अधिकांश भाग कालोपत्र भइसके पनि दाउन्नेको करिब चार किलोमिटर क्षेत्रमा निर्माण कार्य बाँकी रहेकाले यातायात व्यवस्थापनमा समस्या देखिँदै आएको छ।

Facebook Comments Box